न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

काठमाडौँ । पाकिस्तान जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । बुधबार न्यूजील्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान फाइनलमा पुगेको हो ।

न्यूजील्याण्डले दिएको १५३ रनको लक्ष्य पछाएको पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पाकिस्तानको जितमा दुवै ओपनरले अर्धशतक बनाएका थिए । पहिलो विकेटका लागि १०५ रनको साझेदारी गरेका कप्तान बाबर आजमले ४२ बलमा ५३ रन बनाएर आउट भएका थिए । त्यस्तै अर्का ओपनर मोहमद रिजवानले ५७ रन बनाएका थिए ।

त्यस्तै मोहमद हरिसले ३० रन बनाए भने शान मसूदले २ रन बनाए । न्यूजील्याण्डका बलर ट्रेन्ट बोल्टले २ विकेट लिए भने मिचेल सान्टनरले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै १५२ रन बनाएको थियो । न्यूजील्याण्डका लागि डार्यल मिचेलले अविजित ५३ रन बनाए भने कप्तान केन विलियम्सनले ४६ रन बनाए । त्यस्तै डेभोन कोनवेले २१ रन बनाए भने जेम्स निशामले १६ रन बनाए । त्यस्तै फिन एलेनले ४ र ग्लेन फिलिपले ६ रनको योगदान दिएका थिए ।

त्यस्तै पकिस्तानका बलर शाहिन शाह अफ्रिदीले २ विकेट लिए भने मोहमद नवाजले एक विकेट लिएका थिए ।

यो जितपछि पाकिस्तान २००९ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ । यस विश्वकपमा शुरुवातका दुई खेलमा हार बेहोरेको पाकिस्तान त्यसपछिका सबै खेल जितेर फाइनलसम्मको यात्रा तय गरेको छ । यस यात्रामा पाकिस्तानलाई भाग्यले पनि साथ दिएको छ । समुह चरणको खेलमा दक्षिण अफ्रिका एसोसियट्स देश नेदरल्याण्डससँग पराजित हुनु नै पाकिस्तानका लागि सेमिफाइनलको बाटो खुलेको थियो ।

पाकिस्तान योसहित तेस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ । यस अघि पहिलो टी-२० विश्वकप २००७ मा फाइनलमा भारतसँग ५ रनले पराजित हुदै उपविजेता बनेको थियो भने दोस्रो पटक २००९ मा ईङल्याण्डमा आयोजित विश्वकपमा फाइनलमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

अब विश्वकपको फाइनलमा पाकिस्तानले भारत र ईङल्याण्डबीचको विजेतासँग खेल्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री