भिक्टोरिया तालमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त, पाइलटसहित १७ जना बेपत्ता

काठमाडौं । तान्जानियाको बुकोबा सहरमा अवतरणको क्रममा तान्जानियाली यात्रुवाहक विमान भिक्टोरिया तालमा दुर्घटनाग्रस्त भएको छ । प्रिसिजनको एयरको उडानमा रहेको यस विमानमा ४३ जना सवार थिए । ती मध्ये २६ जनालाई उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ ।

उद्धारकर्मी र स्थानीय माझीहरूले घटनास्थलमा जीवित यात्रुहरूको खोजी गरिरहेका छन् । विमान करिब पूर्णतः तालमा डुबेको छ भने यसको खैरो र हरियो रङ्गको पुच्छर मात्र पानी माथि देखिएको छ । बुकोबा विमानस्थलको एउटा धावनमार्गको पुछार तालको किनारसँग जोडिएको छ ।

अफ्रिकाकै सबैभन्दा ठूलो भिक्टोरिया तालबाट एटीआर–४२ विमानलाई बाहिर निकाल्न आपतकालीन कार्यकर्ताहरू त्यसलाई डोरीले बाँधेर तान्ने प्रयासमा रहेका छन् । दुईजना पाइलट र चालकदलका अन्य दुई सदस्यसहित १७ जना व्यक्ति अझै बेपत्ता रहेका बीबीसीले जनाएको छ ।

राष्ट्रपति सामिया सुलुहु हस्सनले पीडितहरूप्रति दुःख व्यक्त गर्दै उद्धार कार्य जारी रहेकाले सम्बन्धित सबै पक्षलाई शान्त रहन आह्वान गरेकी छन् । तान्जानियाको सबैभन्दा ठूलो सहर दास एस सलामबाट मवान्जा हुँदै बुकोबातर्फ उड्ने क्रममा विमानले आँधिहुरी र भीषण वर्षाको सामना गर्नुपरेको थियो ।

तान्जानियाको सबैभन्दा ठूलो निजी एयरलाइन प्रिसिजन एयरमा आंशिक रूपमा केन्या एयरवेजको पनि लगानी रहेको छ । सन् १९९३ मा स्थापना भएको यस एयरलाइनले आन्तरिक र क्षेत्रीय उडान सञ्चालन गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री