काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रकम कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा आज डा. महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्र प्रचार गर्नका लागि नभएर काम गर्नका लागि भएको बताए ।
‘जे गर्न सकिन्छ त्यो राख्ने हो, काम गर्न नसक्ने किन राख्ने’, उनले प्रतिप्रश्न गरे । उनले निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने र त्यसको पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने बताए ।
नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएका प्रवक्ता डा महतले एक सय ६५ सिटमध्ये ९१ सिटमा नेपाली कांग्रेसका उम्मेदवार भएकाले अन्य पार्टीभन्दा निश्चितरुपमा धेरै सिट आफ्नो पार्टीको आउने दाबी गरे ।
पाँच वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदा जनतालाई झुक्याउनेभन्दा अरु नयाँ केही नभएको उनले दाबी गरे ।
नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा रेल चलाउने भनेको आन्तरिक यातायातका लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक नभएको उनले बताए । उनले भने, ‘हामी ऋण काढेर रेलमा लगानी गर्ने पक्षमा छैनौँ, चल्नसक्ने काम गर्नेछौँ ।’
प्रतिकृया दिनुहॊस