हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई आयोगले स्पष्टीकरण सोध्यो

काठमाडौँ । निर्वाचन आयोगले अहिलेसम्म आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई स्पष्टीकरण सोधेकाे छ । बुधबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हालसम्म ७१ जनालाई स्पष्टीकरण सोधेको बताए ।

त्यस्तै, उम्मेदवार तथा दलले निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्दा आयोगद्वारा जारी आचारसंहिता उल्लंघन गरेमा उनीहरूलाई सोही स्थानमा कारबाही गर्न स्थानीय तहलाई अनुमति दिइएको प्रमुख आयुक्त थपलियाले बताए ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई दण्ड‚ जरिवाना भने आयोगले नै निर्क्योल गर्ने उनले बताए । उम्मेदवारको निर्वाचनसम्बन्धी खर्च अरूले गर्न नपाइनेसमेत आयोगले स्पष्ट पारेको छ ।

उनले कात्तिक १७ गतेदेखि दोस्रो चरणको चुनावी प्रचारप्रसार गर्न पाइने भन्दै सार्वजनिक पदमा आसीन व्यक्तिले निर्वाचन प्रचारप्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने समेत बताए । त्यस्तै सार्वजनिक पदमा रहेका व्यक्तिले चुनावी प्रचारप्रसारमा जाँदा सरकारी सवारी प्रयोग गर्न नपाइनेसमेत आयोगले जनाएको छ ।

‘नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले आयोगको अनुमतिमा निर्वाचन प्रचारप्रसारमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले नेपालको संविधानले प्रदान गरेको नेपालको कुनै पनि भूभागमा आवतजावत गर्न पाउने हकलाई रोकटोक गर्दैन । तर‚ सार्वजनिक पद धारण गरेका माननीय प्रधानमन्त्री‚ मन्त्री र प्रदेशमन्त्रीज्यूहरूले अनुमति लिएर जान सक्नुहुन्छ । त्यसरी जाँदा कुनै पनि सरकारी स्रोतसाधनको प्रयोग गर्न हुँदैन‚’ प्रमुख आयुक्त थपलियाले भने ।

आयोगले यो निर्वाचनमा दल र उम्मेदवारले गरेको खर्चको अडिट गर्नेसमेत जनाएको छ । उम्मेदवारले मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन खर्चको हिसाब बुझाउनुपर्ने आयोगले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिने क्षतिपूर्ति १० लाख पुर्‍याइने

काठमाडौं । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले …

प्रतिकृया दिनुहॊस