काठमाडाैँ । बैंककाे एटीएम मेशिन फुटाएर पैसा चाेरी गर्न खाेजेकाे अभियाेगमा प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेहरूमा नुवाकोटकाे वेलकोटगढी–३ घर भई ललितपुरकाे ग्वार्को बस्ने वर्ष ३१ को वसन्त तिवारी । साेही स्थानमा घर भई हाल ललितपुर सुन्धारामा बस्ने वर्ष २४ को विजय तिवारी र धरान–१५ भानुचोक घर भई जिल्ला ललितपुर ६ सुन्धारामा बस्ने बर्ष ३५ को अनिल राई रहेका छन् ।
उनीहरूले कात्तिक ४ गते राती साढे १२ बजे ललितपुर–५ कुमारीपाटीमा रहेकाे एनएमबी बैंककाे एटीएम मेशिन राखेको स्थानमा ढोका फोरेर भित्र पसी एटीएम मेशिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरेका थिए ।
साेही घटनामा उनीहरू फरार रहेका थिए । बैंककाे सीसीटीभी फुटेजकाे माध्यमबाट जिल्ला प्रहरी परिसर ललितपुर तथा वडा प्रहरी कार्यालय लगनखेलले अनुसन्धान गर्दै जाने क्रममा उनीहरू पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । उनीहरूलाई जरुरी पक्राउ पूर्जीसहित पक्राउ गरी ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।




