काठमाडौँ । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायतका धेरै स्थानमा भारी वर्षा भइरहेका कारण तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । नकोटेस्ठित बाढी मापन केन्द्रमा मेलम्ची नदीको जलसतह १.५ मिटरले बढेको महाशाखाले जनाएको छ । त्यस्तै भिरालो जमिन र भूकम्पका कारण पहिरोको जोखिम रहेका क्षेत्रमा पनि सतर्कता अपनाउन महाशादाले स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।
साथै महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी तथा कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । पूर्वका झापा, इलाम, भोजपुरसहित केही जिल्लामा पनि ठूलो पानी परेको छ । केही ठाउँमा ठूलो पानी परेको भए पनि देशका मुख्य नदीमा आउँदाे तीन दिनसम्म जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । आज तराई क्षेत्रका केही ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।




