काठमाडाैँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित मान्द्रे खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । खोला तर्ने क्रममा बाढीले बगाउँदा यामबहादुर विकको मृत्यु भएको हो । शुक्रबार राति करिब १०ः२० बजे खोला तर्ने क्रममा भेलले बगाउँदा शुक्लागण्डकी-१० कुखुरे खोला बस्ने ५२ बर्षका विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।
विक घर जान तर्ने क्रममा बर्षाका कारण आएको मान्द्रे खोलाको भेलले बगाएको थियो । उनको खोजतलास गर्दा आज बिहान ७ बजे तरेको ठाउँदेखि करिब ७०० मिटर तल बाङ्गे खोलाको छेउमा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि दमौली अस्पताल पठाइएको छ ।
वडाध्यक्ष राजेन्द्र भट्टराईका अनुसार विक परम्परागत रुपमा आरनसँगै खेतीपाती र मेलापात गरी घर व्यवहार चलाउँथे । विकको पाँच जनाको परिवार छ । जिल्लामा हिजो साँझ ९ बजेपछि भारी बर्षा भएको थियो । ठाडो खोला भएकाले बर्षातपछि उक्त खोलामा ठूलो बाढी आउने गर्दछ ।




