जाहेरी परेको तीन दिन बित्दासमेत पक्राउ परेनन् पल शाह

काठमाडाैँ । जाहेरी दर्ता भएको तीन दिन बितिसक्दा पनि जबरजस्ती करणीका अभियुक्त पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेको थियो ।

पल काठमाडौँभित्रै लुकेर बसेको आशंकापछि जिल्ला प्रहरी कार्यालय तनहुँले जाहेरी दर्ता भएको भोलिपल्टै पक्राउका लागि महानगरीय प्रहरी परिसर काठमाडौँलाई पत्रसहित अनुरोध गरेको थियो । काठमाडौँ परिसरले खोजीका लागि मातहतको १४ वटै वृत्तलाई निर्देशन गरेको छ । यस क्रममा प्रहरीले पलनजिकका आफन्त मात्र नभई संगतका साथीसँग समेत सोधपुछ गरेको छ । तर, उनलाई पक्राउ गर्न भने प्रहरीले सकेको छैन ।

काठमाडौँ परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले पलको खोजी भइरहेको जानकारी दिए । उनले भने, ‘पललाई पक्राउ गर्न हामी कहाँपत्र आएको छ । सम्भावित ठाउँमा खोज्ने काम प्रहरीले सुरु गरिसकेको छ । केहीसँग सोधपुछ पनि भएका छन् । तर, फेला पर्न सकेको छैन । खोजी कार्य जारी छ ।’

काठमाडौँ परिसरका टोलीले खोजीका क्रममा चलचित्र निर्माता सुदर्शन थापा, अभिनेतृ पूजा शर्मासँग सोधपुछ गरिसकेको छ । टेलिफोन ‘स्विच अफ’ गरेर बसेको हुँदा पलको ‘लोकेसन’ पत्ता लगाउन प्रहरीलाई गाह्रो भइरहेको छ । पलविरुद्ध १७ वर्षीया गायिकालाई पटक–पटक बलात्कार गरेको अभियोग लागेको छ । प्रहरीका अनुसार जिप्रका तनहुँमा पीडितका बुबा उपस्थित भएर पलविरुद्ध जाहेरी दिएका थिए । –नयाँ पत्रिकाबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री