गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताएका छन्। काठमाडौँ महानगरपालिकाद्वारा आज आयोजित २४औँ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उनले तीनै तहका सरकारको समन्वय र सहकार्यले मात्रै जोखिम कम गर्न तथा उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावकारी बनाउन सकिने उल्लेख गरे।
गृहमन्त्री खाणले यसपालीको भूकम्प सुरक्षा दिवस सोहीअनुसार कार्यक्रम तय गरि मनाउन थालिएको पनि जानकारी दिए। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) को सङ्क्रमण फैलिरहेको सन्दर्भ जोड्दै मन्त्री खाणले अहिले कोभिडको विपदबाट नागरिकको जीउज्यान जोगाउनु महत्वपूर्ण भएको बताए।
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गरि जोखिम न्यूनीकरणमा लाग्नसमेत राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई आग्रह गर्दै उनले यसप्रति सचेत हुन नागरिकमा समेत अनुरोध गरे। गृहमन्त्री खाणले जोखिमका बीच आम नागरिकको सुरक्षामा खटिने सबै राष्ट्रसेवक कर्मचारीको प्रशंसा पनि गरे।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विसं १९९० को भूकम्पको असर धेरैलाई जानकारी नभए पनि विसं २०७२ को भूकम्पको साक्षी हामी सबै रहेको र त्यसले नसोचेको क्षति पुर्याएको बताए। उनले महानगरपालिकाले भूकम्प प्रतिरोधी घर निर्माणका लागि मापदण्ड बनाएर लागू गरेको जानकारी दिँदै अझै पनि यहाँ भूकम्पले भत्काएका संरचना पुनःनिर्माण नहुँदा जोखिम कायमै रहेको बताए।
महानगर प्रमुख शाक्यले पुनःनिर्माणका लागि महानगरसँग बजेट रहेकाले जिम्मेवारी दिए महानगरले नै गर्ने पनि बताए। उनका अनुसार स्थानीय सरकार, सङ्घीय सरकार वा गुठी संस्थानबीच समन्वय नहुँदा ती संरचना निर्माण हुन नसकेको हो।




