काठमाडौँ । विश्वभरको मानवअधिकार अवस्था विश्लेषण गरिएको एक प्रतिवेदनले नेपालमा सरकारी असफलताले कोभिड दोस्रो लहरमा धेरैको मृत्यु भएको तथ्य सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले सरकारको कमजोरीले दोस्रो लहरमा धेरैको मृत्यु भएको तथ्य सार्वजनिक गरेको हो ।
बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले सरकार संवेदनशील र सक्रिय भएको भए धेरै जना सङ्क्रमितलाई मृत्युको मुखमा पुग्नबाट बचाउन सकिने दाबी गरिएको छ । ‘कोडिड-१९ महामारीमा पूर्व तयारी गर्न र उच्च बिन्दुमा पुग्दा त्यसलाई सम्बोधन गर्न सरकार पूर्णतया असफल भयो । जसको परिणाम थुप्रै बिरामीको मृत्यु हुन पुग्यो, जसलाई रोक्न सकिन्थ्यो,’ प्रतिवेदनमा भनिएको छ ।
ह्युमत राइट्स वाचको ३२औँ वार्षिक प्रतिवेदनमा १०० भन्दा बढी देशको मानव अधिकारको अवस्था विश्लेषण गरिएको छ । ‘बिरामीहरू अक्सिजन सिलिन्डरको अभावमा मरिरहेका थिए, सरकार त्यस्तो महामारीको पूर्व तयारी गर्न असफल भएको थियो । खोप अभावले अवस्था अझ खराब भएको थियो । खोप खरिदमा अनियमितता भएका विवरण सार्वजनिक भए, भ्रष्टाचारले गर्दा खोप खरिद प्रक्रिया अझ ढिला हुन पुग्यो,’ प्रतिवेदनमा अगाडि भनिएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाको दोस्रो लहरमा मात्र ६ हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो । तर कोरोना महामारी शुरु भएयता अहिले (पुस २९ गते)सम्म भने यसबाट मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार ६ सय १० पुगेको बिहीबार सार्वजनिक विवरणमा उल्लेख छ ।
प्रतिकृया दिनुहॊस