नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनीतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोभिड १९ को महामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई द्रुतगतिमा पुनरुत्थान गर्न सबै राजनीतिक दलहरुको समान धारणा आवश्यक पर्ने बताए।
“अहिले अर्थतन्त्र विस्तारै सुधार हुन थालेको छ । यो जुन सुधार देखिएको छ यसलाई रोकिन दिनुहुन्न। सबै मिलेर यसलाई दू्रतगतिमा पुनरुत्थान गर्नुको विकल्प छैन,” उनले भने, “यसका लागि सबै राजनीतिक दलहरुको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ।”
अहिले देखिएको कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको नेपालमा पर्न सक्ने प्रभाव बारे बोल्दै उनले यसलाई अहिलेसम्मका अध्ययनहरुले कम खतरापूर्ण रहेको बताउँदै आएकाले यससँगसँगै आर्थिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्नुको विकल्प नभएको बताए।
लुम्बिनी प्रदेश मुलुककै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उनले विस्तारै विस्तारै यसक्षेत्रका भैरहवा र बुटवल जस्ता शहरहरु आर्थिक केन्द्रका रुपमा पनि विकास हुँदै गरेको बताए।
उनले आइएमई समूहको लगानीमा सातवटै प्रदेशमा केबलकारसहितको पर्यटकीय गन्तब्यहरु निर्माण भइरहेको र त्यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसँग समेत सहकार्य हुने बताए।
“हामीले सातवटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तब्यहरु निर्माण गर्न गइरहेका छौँ। यसमध्ये एउटा परियोजना बुटवलमा पनि रहेको छ। यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसँग समेत साझेदारी र सहकार्य हुनेछ,” उनले भने।
कोभिड महामारीले मुलुकमा चुनौतीमात्र नथपेको बताउँदै यसले नयाँ नयाँ अवसरका ढोका पनि खोलेको उनले बताए।
“कोभिड–१९ को महामारीले चुनौतीहरुमात्र थपेको छैन, नयाँ अवसरहरुको ढोका पनि खोलेको छ। डिजिटल अर्थतन्त्र निर्माणको गतिलाई तीव्र बनाउन यो सङ्कटले हामी सबैलाई बाध्य पारेको छ। इ–कमर्श, इ–कारोबार, सेवा तथा वस्तुको उत्पादन एवम् बजारीकरणमा डिजिटल प्रविधि र प्लेटफर्महरुको प्रयोग बढेको छ,” उनले भने।




