कांग्रेस १४औँ महाधिवेशनः १६० निर्वाचन क्षेत्रको अधिवेशन सकियाे

नेपाली कांग्रेसले १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरेको छ। पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए।

महोत्तरी क्षेत्र नं ४ को अधिवेशन सम्पन्न भइसकेको तर निर्वाचनको नतिजाका क्रममा केही विवाद रहेकाले त्यहाँको निर्णय गर्न बाँकी रहेको उनको भनाइ थियो। कांग्रेस महाधिवेशनका लागि ६३ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। यस्तै सात प्रदेशमध्ये छ प्रदेशको अधिवेशन सुरु भइसकेको र केही प्रदेशको नतिजासमेत आइसकेको उनले बताए।

प्रदेश नं २ बाहेक सबै प्रदेशको अधिवेशन प्रारम्भ भइसकेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पदाधिकारीको नतिजा आइसकेको छ। प्रदेश नं १ र लुम्बिनी प्रदेशको मतगणना भइरहेको र बागमती प्रदेशको सभापति पदमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत नकटाएकाले पुनः मतदान हुने निर्वाचन संयोजक घिमिरेले बताए।

कांग्रेसको केन्द्रीय महाधिवेशन मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री