काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बागग्मती प्रदेशको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको हो ।
वागमती प्रदेश सभापतिमा पहिलो चरणमा त्रिपक्षीय भिडन्त भएको हो । संस्थापन, पौडेल र सिटौला तीनवटै समूहले उमेदवार उठाएका हुन् । संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा समूहबाट बानियाँ चुनावी मैदानमा छन् । बानियाँ वाग्मती प्रदेश संसदीय दलका नेता पनि हुन् । उनी यसअघि प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा थियो । उनी पूर्वगृहराज्यमन्त्री पनि हुन् ।
संस्थापन इतर समूहबाट केसी सभापतिका उमेदवार बनेका हुन् । उनी यसअघि दुई कार्यकाल नुवाकोट जिल्ला सभापति बनेका थिए । केसी संविधानसभा सदस्य पनि हुन् । यस्तै, यो प्रदेशमा नेता कृष्णप्रसाद सिटौला समूहबाट उनका विश्वासपात्र भीमसेनदास प्रधान सभापति पदका उमेदवार बनेका हुन् । प्रधान प्रतिनिधिसभा सांसद हुन् । उनी यसअघि रक्षामन्त्री पनि भइसकेका छन् । प्रधानले अब दोस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउँदैनन् ।



