जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिपूर्वक शुभारम्भ भएको छ। सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम रहेको छ।
नगर दर्शनमा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालकलाई जानकी मन्दिरको प्राङ्गणबाट मिथिलानगर घुमाइने मन्दिरका सह–महन्त रामरोशनदास वैष्णवले जानकारी दिए।
नगर दर्शन हेर्न जानकी मन्दिरमा आजका दिन श्रद्धालु भक्तजनको भीडले राम र लक्ष्मणलाई फूल बर्षाएर स्वागत गर्दछन्। शुक्रबारदेखि सुरु भएको महोत्सव मङ्सिर २३ गतेसम्म चल्नेछ। शनिबार फूलबारी लीला, मङ्सिर १९ गते धनुषयज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर तथा विवाह र २३ गते रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ।
मङ्सिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव भव्यरुपमा मनाइने गरिन्छ। जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल र भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन्।
त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयम्बरका लागि प्रतिस्पर्धामा राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा यस महोत्सवको आयोजना हुँदै आएको महन्थ रामतपेश्वर दास वैष्णवले बताए।




