प्रदेश सभाको ७औं अधिवेशन सम्पन्न भएको झण्डै डेढ महिनापछि प्रदेश २ सभाको ८ औं अधिवेशन आह्वान गरिएको छ। प्रदेश २ सभा सचिवालयले आगामी २९ मंसिरमा प्रदेश सभाको८औं अधिवेशन आह्वान गरेको हो ।
चार दलीय गठबन्धनको सरकार बनेपछि पहिलो पटक प्रदेश सभाको अधिवेशन सुरु हुन लागेको हो। यो अधिवेशनमा प्रदेशको नाम र राजधानी विषयमा पुनः छलफल हुने बताइएको छ। गठबन्धनको दुई तिहाइको सरकार बने पनि प्रदेशको नाम र राजधानीमा अहिलेबीच सहमति हुन सकेको छैन।
सभामुख सरोज कुमार यादवले प्रदेशको नाम र राजधानीका लागि सातौँ अधिवेशनमा प्रदेश सरकारलाई रुलिङ गरेका थिए । तर, पनि अहिलेसम्म दलहरू यो विषयमा सहमत हुन सकेको छैन।
यसअघि प्रदेशको नाम र राजधानी सम्बन्धी प्रदेश सभामा प्रस्तुत गरिएको प्रस्ताव असफल भइसकेको छ। प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेश र जनकपुरधाम राजधानी प्रस्ताव गरेको छ। सो प्रस्तावको पक्षमा हालका लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) रहेको छ।




