नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच उक्त विश्वबिद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो रु. १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालयको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आम्दानीको आधारमा विना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने छ।
मंसिर ८ गते त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको हो । त्रिभुवन विश्वविधालयका उपकुलपति प्रा. डा. धर्मकान्त वास्तोला र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको रोहवरमा त्रिभुवन विश्वविद्यालयका तर्फबाट आर्थिक महाशाखा प्रमुख कुमारप्रसाद हुमागाई र नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषाल, रजिष्टार प्रा. डा. पेसल दाहाल, नेपाल बैंक लिमिटेडका रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेलका साथै बैंकको किर्तिपुर शाखाका शाखा प्रबन्धक ज्ञानराज गौतम लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्तोलाले नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीचको धेरै पुरानो सम्बन्ध रहेको स्मरण गर्दै नेपाल बैकले त्रिभुवन विश्वविद्यालयमा प्रदान गर्दै आएको अटुट सेवाको उच्च प्रसंसा गर्दै नेपाल बैकलाई धन्यबाद दिएका थिए।




