एजेन्सी । विकिलिक्सका संस्थापक जुलियन असान्जले जेलभित्रै विवाह गर्ने अनुमति पाएका छन् । सन् २०१९ देखि लण्डनको बेलमार्स जेलमा रहेका असान्जले जेलभित्रै विवाहको लागि अनुमति मागेका थिए । जेलका गभर्नरले उनलाई जेलभित्रै विवाहको लागि अनुमति दिएका हुन् ।
उनले अब आफ्नी प्रेमिका स्टेला मोरिससँग जेलभित्रै विवाह गर्नेछन् । यसअघि जेलका गभर्नरले उनीहरुलाई जेलभित्र विवाहको अनुमति नदिएको भन्दै उनीहरुले कानुनी लडाइँ सुरु गरेका थिए । असान्जकी प्रेमिका मोरिसले जेलभित्रै विवाहको अनुमति दिएको खुसी व्यक्त गरे पनि यसको लागि कानुनी लडाइँ लड्नुपर्ने अवस्थामा आएकोमा आक्रोश व्यक्त गरेकी छिन् ।
यो विवाहको मिति भने अहिलेसम्म तय भएको छैन । अन्सान्ज र मोरिसका दुई सन्तान पनि छन् । असान्ज सन् २०१२ देखि लण्डनस्थित इक्वेडरको दूतावासमा शरणमा बस्दै आएका थिए। उनीमाथि यौन दुर्व्यवहारको मुद्दामा स्वीडेनले वारेन्ट जारी गरेसँगै उनले इक्वेडरको दूतावासमा शरण लिएका थिए ।
सन् २०१९ मा बेलायतले जमानतक उल्लंघन गरेको आरोपमा असान्जलाई पक्राउ गरेको थियो । अहिले असान्जलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया चलिरहेको छ । अमेरिकाले उनीमाथि इराक र अफगानिस्तानको गोप्य दस्तावेज चुहाएको आरोप लगाएको छ ।




