एजेन्सी । काबुलमा महिला अधिकारकर्मीहरुले शिक्षामा पुरुष् सरह समान अधिकार माग गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनको समाचार संकलनमा खटिएका कैयौं पत्रकारमाथि तालिबानहरुले आक्रमण गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
बिहीबार काबुलस्थित शिक्षा मन्त्रालय नजिकबाट अर्थ मन्त्रालयसम्म त्यहाँका महिलाले शिक्षामा पुरुष सरह समान अधिकारको माग गर्दै प्रदर्शन गरेका हुन् ।
रंगीन हेड स्कार्फ लगाएका महिलाको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्न माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले ‘हामीसंग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन । बेरोजगारी, गरीबी, र भोकले सताएको छ,’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
तालिबान अधिकारीहरुले प्रदर्शनमा सहभागी महिलालाई करिब १ घण्टा ३० मिनेटसम्म स्वतन्त्र रुपमा सडकमा हिड्न भने दिएका एएफपी समाचार समितिले जनाएको छ । तर, तालिबान लडाकूहरुले प्रदर्शनको समाचार संकलन गर्न खटिएका विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेका थिए ।
प्रदर्शनकारी आयोजक मध्येकी एक जाहरा मोहम्मदीले एएफपीलाई भनिन्, ‘महिलाहरु जोखिमको बावजुद मार्चपास गर्दै थिए । तालिबानहरुले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरु कसैको पनि सम्मान गरेनन् ।’ उनले बालिकाको विद्यालय जाने अधिकार समेत तालिबानहरुले खोसेको बताइन् ।
प्रतिकृया दिनुहॊस