भारतमा कोरोना भाइरसबाट थप २२ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८४२ जना सङ्क्रमित भएका हुन्।
अघिल्लो दिन शनिबार बिहान सार्वजनिक जानकारीअनुसार एक दिनमा २४ हजार ३५४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।
शनिबार भन्दा आइतबार सङ्क्रमितको सङ्ख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
यसअघि दैनिक सङ्क्रमितको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । सङ्क्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् ।
अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको पाइएको छ ।
हिजो एकै दिनमा केरलामा १३ हजार २१७ जना नयाँ सङ्क्रमित थपिए भने १२१ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।
यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ८१७ व्यक्तिको मृत्यु भएको छ ।




