पर्वत । पवर्तमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित मोदीखोलामा सात वर्षदेखि निर्माणाधीन आयोजनाले आगामी असारभित्रै उत्पादन दिने तयारीका साथ निर्माण कार्य तीव्र बनाएको हो ।
यस वर्ष निर्माणको काममा कुनै अवरोध नभई धमाधम हुन सकेकाले साउनसम्म उत्पादन गर्ने तयारी गरिएको आयोजना प्रमुख पवनकुमार यादवले बताए ।
आयोजनाको काम करीब २ प्रतिशत मात्र बाँकी रहेकाले निर्माण सकिएको भन्न मिल्ने यादवले बताए ।
२०६८ सालदेखि निर्माण थालेको आयोजनालाई काम चाँडो सक्नुपर्ने बाध्यता छ । गतवर्ष असारसम्म सक्ने लक्ष्य भए पनि भूकम्प, नाकाबन्दी जस्ता कारणले ढिलाइ भएको आयोजनाले बताएको छ ।
३ अर्ब ६० करोड रुपैयाँको लागत अनुमानमा शुरु गरेको आयोजनाले निर्धारित अवधिमा काम नसकेपछि लागत पनि बढेको हो । आयोजनाले ०६८ भदौमा विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेको छ । वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
आयोजनामा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत स्वपूँजी रहेको आयोजना पक्षले जनाएको छ ।




