प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले एमसीसी सम्झौंताबारे तत्काल धारणा बनाउने अवस्था नरहेको स्पष्ट पारेको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँगको शिष्टाचार भेटमा सत्तारुढ दलहरुको धारणा नआई सो सम्बन्धमा आफ्नो पार्टीले धारणा बनाउने अवस्था नरहेको बताएका हुन्। बिहीबार काठमाडौं आए लगत्तै अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पुगेर उपाध्यक्ष फातिमा नेतृत्वको टोलीले एमसीसीबारे अध्यक्ष ओलीको धारणाबारे चासो व्यक्त गरेकी थिइन् ।
त्यसको जवाफ दिँदै अध्यक्ष ओलीले सत्तारुढ दलहरुको धारणा आएपछि मात्रै आफ्नो पार्टीले आन्तरिक छलफल गरेर सो सम्बन्धमा आवश्यक निर्णय लिने बताएको भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए।
उपाध्यक्ष फातिमाले लामो समय नेगोशियसन भएर एमसीसी टुंगिएको उल्लेख गर्दै त्यसबारे एमालेको धारणाबारे चासो राखेकी थिइन् भने अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले सो सम्झौंतालाई अघि बढाउन चाहेको तर अहिले त्यसलाई के गर्ने भन्ने विषय सत्तारुढ दलहरुको निर्णयमा भर पर्ने धारणा राखेका थिए।
अमेरिकी अनुदान सहायता सम्झौंता (एमसीसी)को विषयलाई लिएर नेपालभित्र विवाद देखिएपछि उपाध्यक्ष फातिमा नेतृत्वको टोली सोही विषयमा छलफल गर्न नेपाल आएको हो। टोलीले नेपाल बसाईको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।




