बर्दियामा १२ सुन व्यवसायी पक्राउ

बर्दिया । सुनमा धातु मिसावट गरेको भन्दै प्रहरीले बर्दियाबाट १२ व्यवसायीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाको अनुगमन समितिले संकलन गरेको सुनको नमूना परीक्षणका क्रममा सुनमा धातु मिसावट गरेको भेटिएपछि १२ व्यवसायी पक्राउ गरिएको हो ।

प्रहरीले बाँसगढी नगरपालिकाबाट स्याङ्जा सुनचाँदी पसलका संचालक संगिता सुनार, पर्वत मनिषा सुनचाँदी पसलका शिवबहादुर सुनार, पोखरा सुनचाँदी पसल त्रिभुवन सुवर्णकार, सितासुन चाँदी पसलका सीता सुनार, मोडेल सुनचाँदी पसलका ईन्द्रमान सुनार, गण्डकी सुनचाँदी पसलका यमलाल विश्वकर्मालाई पक्राउ गरिएको छ ।

त्यस्तै राजापुर नगरपालिकाबाट फुलराम ज्वैलर्सका परशुराम सुनार र निमप्रकाश सुनार, लुम्बिनी सुनचाँदी पसलका भगवान शरण सोनी, दंगाली सुनचाँदी पसलका कविराम विक पक्राउ परेका छन् ।

गुलरिया नगरपालिकाबाट राप्ती लुम्बिनी सुनचाँदी पसलका भीमबहादुर सेन्चुरी, गण्डकी सुनचाँदी पसलका ईश्वरकुमार विश्वकर्मा र न्यू स्याङ्जा गण्डकी सुनचाँदी पसलका सञ्चालक विजयलक्ष्मी सुनार र सन्तोषी सुनारलाई पक्राउ गरिएको हो ।

बर्दियाका विभिन्न क्षेत्रको नमूना परिक्षण गर्दा ८ प्रतिशतसम्म अन्य धातु मिसावट भएको पाइएकाले व्यवसायीलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए ।

कालोबजार तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार उनीहरूविरुद्ध कारवाही प्रक्रिया अघि बढाइने उनले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री