होश गर्नुहोला काठमाडौंबासीले : घरपालुवा कुकुरलाई घर बाहिर दिसा गराए सजाय भोग्नु पर्ला ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरलाई घर बाहिर दिसा गराए काठमाडौंवासीलार्इ कडा कारबाही गर्ने जनाएको छ । कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर पार्ने भएकाले कामपा सहरी जनस्वास्थ्य महाशाखाले घरपालुवा कुकुरलाई घरको निश्चित ठाउँमा दिसा गराउन अनुरोध गरेको हो ।

कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फेसल कोलीफर्म ब्याक्टेरिया हुने र उक्त जीवाणु मानव जीवनका लागि अत्यन्तै हानिकारक हुने भएकाले घरपालुवा कुकुरलाई घरको निश्चित स्थानमा नै दिसा गराउन महाशाखाले आग्रह गरेको हो ।

एउटा कुकुरको दिसामात्र जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार हानिकारक ब्याक्टेरिया फैलिने बताइन्छ। यस्तो खतरा रोक्न घरपालुवा कुकुरलाई घरमै शौच गराउन कामपाले अनुरोध गरेको छ। निर्देशन पालना नगरेमा कडा कारबाही गर्ने पनि महाशाखाले जनाएको छ । यसरी प्रवेश गर्ने जुकाले मानिसको शरीरलाई नकारात्मक असर गर्ने हुँदा कामपाले यस किसिमको नियमको शुरुवात गरेको हो ।

कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ । हाल कामपामा ८० हजार घरपालुवा २२ हजार सामुदायिक कुकुर रहेको तथ्यांक छ ।

अहिले धेरै घरपालुवा कुकुरलाई घर बाहिरको खाली स्थानमा दिसापिसाब गराउने प्रचलन छ । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म र टेपवर्मजस्ता जुका उत्पादन हुने र ती मानिसको शरीरमा प्रवेश गर्दछन् ।

यसैगरी, घरपालुवा कुकुरको तुलनामा कम संख्यामा रहेको सामुदायिक कुकुर व्यवस्थापन गर्नका लागि पनि कामपाले विशेष अभियान थाल्ने पनि श्रेष्ठले बताए । दिएको निर्देशन पालना नगरेमा कारबाही गर्ने पनि महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप