काठमाडौँ । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून-चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातको असर नेपाल पनि परेको छ । चक्रवातका कारण आजदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको हो ।
उक्त न्यून-चापीय क्षेत्र सोमबार चक्रवातमा परिणत भएको र आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले जनाएको छ । अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नम्बर १ का उच्च हिमालीरपहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातरवर्षाको सम्भावना रहेको छ ।
महाशाखाले उच्च हिमाली भूभागमा हावाहुरी, हिमपात र वर्षाको सम्भावना रहेकाले मंगलबारदेखि केही दिनसम्म पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ । देशका धेरै स्थानमा बुधबारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।




