याङ्गुन । सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ८१८ जनाको मृत्यु भएको छ । कुल मृतकमध्ये तीन जनाको आइतबार मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
दुई युवकलाई जुन्ता सरकारका सुरक्षाकर्मीले कयाह राज्यमा गोली हानेर मारेका हुन् । सहरबाट माग भएअनुसार गाउँबाट खाद्य पदार्थ लिएर आइरहेका बेला उनीहरुको हत्या भएको जनाइएको छ । उनीहरुको शव पनि सैनिकले नै नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।
सैनिक सरकारले अहिले चार हजार २९६ जनालाई गिरफ्तार गरेर थुनामा राखेको छ भने तीमध्ये ९५ जनालाई अदालतले नै थुन्ने आदेश दिएको छ । त्यसैगरी एक हजार ८२२ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ ।
आन्दोलनकारी र सुरक्षाकर्मीका बीचमा भएको झडपमा क्रममा अहिलेसम्म १३ सुरक्षाकर्मीको मृत्यु भएको छ । गत फेब्रअरी १ मा म्यानमारको सेनाले तत्कालिन सरकारका उच्च अधिकारीहरुलाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएपछि अहिलेसम्म पनि आन्दोलन भइरहेको छ ।
सैन्य सरकारले म्यान्मारकी नेतृ आङ सान सुकीसहितका शिर्ष र प्रभावशाली नेताहरुलाई पनि नियन्त्रणमा राखेको छ । उनीहरुलाई नियन्त्रणमा राखेपनि आम नागरिक र राजनीतिक दलहरुको तर्फबाट आन्दोलन भने निरन्तर भइरहेको छ । सेनाद्धारा गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सुकीलाई सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो ।




