२८ गतेको निर्णय खारेज नभए, कार्यकर्ता भेला रोकिंदैन : भीम रावल

काठमाडौैं – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीचको छलफल विना निष्कर्ष सकिएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा झण्डै ३ घण्टा भएको औपचारिक छलफलमा दुवै पक्षले आ–आफ्नै अडान नछोड्दा कुरा नमिलेको नेता भीम रावलले जनकारी दिए ।

‘आज कुरा मिलेन । फेरि छलफल गर्ने कुरा भएको छ । तर कहिले कसरी भन्ने निश्चित भएको छैन’, माधव नेपाल पक्षबाट छलफलमा सहभागी नेता रावलले भने,‘ उहाँहरुले २८ गतेको निर्णय खारेज गर्नुभयो भने, हामीले हाम्रा तर्फबाट घोषणा गरेका कार्यक्रम स्थगित गर्छौं, नत्र जारी राख्छौं ।’

ओली पक्षलाई २८ गते गरेको निर्णय पार्टीको विधि, विधान र प्रणाली विपरित रहेकाले त्यो निर्णय फिर्ता लिन माधव पक्षले आग्रह गरेपनि उक्त निर्णय फिर्ता गर्न तयार नभएपछि फेरि वार्ता गर्दै जाने सहमति भएको रावलले जानकारी दिएका छन् ।

‘त्यो निर्णय पार्टी विधान र सर्वोच्चको फैसला अनुकुल पनि थिएन,’ आफूहरुले छलफलमा राखेको धारण सुनाउँदै रावलले भने, ‘एक अर्काका विचार आदानप्रदान गर्‍यौं । त्यसक्रममा हामीले एमालेको विधान, पद्दति र प्रणालीमा साझा रुपमा समस्या समाधान गर्न तयार छौ भनेर भनेका छौ ।’ उनले तर त्यसो नगरी आफूले गरेका काम चाहिँ गरिहाल्ने अनि अरु कुरा मानिदिनुपर्ने भन्ने आफूहरुलाई स्वीकार्य नभएको प्रतिक्रिया दिए ।

अध्यक्ष ओलीले फागुन २८ गते आफूहरुलाई थाहै नदिई बैठक गरेर एकपक्षीय रुपमा नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र कतिपयलाई जिम्मेवारीविहीन गरिएको हुँदा त्यस दिनका निर्णय रद्द गर्नुपर्ने नेपाल पक्षको अडान छ । त्यसो नगरे आफूहरुले चैत ४ र ५ गतेका लागि बोलाएको कार्यकर्ता भेला नरोक्ने बताएका छन् ।

‘हामीले त साझारुपमा सहमति नभएका सबै गतिबिधि रोकौं भन्ने प्रस्ताव गरेका छौं, ती स्थगित गर्नुको अर्थ फागुन २८ गते गरेका निर्णय रद्द गर्नुपर्छ, ती निर्णय रद्द भएमा हामी पनि स्थगित गरेर साझारुपमा अघि बढ्न तयार छौं भनेर स्पष्टरुपमा राखेका छौं,’ रावलले भने ।

छलफलमा ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता तथा मन्त्रीहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली लगायत सहभागी थिए भने नेपालका तर्फबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त, गोकर्ण विष्ट लगायत सहभागी थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री