काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रम, सत्ता समीकरण र एमालेतर्फ लागेका नेतामाथि कारबाही प्रक्रियालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार बैठक बिहान ९ बजे बस्ने गरी बोलाइएको छ । शुक्रबार कांग्रेस र जसपाबीच नयाँ समीकरणबारे सकारात्मक छलफल भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक आह्वान गरेका हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन कांग्रेस, जसपा र माओवादी केन्द्रबीच समीकरणको पक्षमा छन् ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि दुवै पार्टी आ-आफ्नो संगठनात्मक काममा लागेका छन् । माओवादी केन्द्रका २३ नेता एमालेको ओली समूहमा केन्द्रीय सदस्य बनेका छन् । एमालेमा माधव-झलनाथ पक्ष असन्तुष्ट रहँदा दुवै पार्टीमा विवाद जारी छ ।




