काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले किसानहरू मिल मालिक र सरकारमा रहेकाहरूकाे मिलिभगत तथा लापरवाहीकाे शिकार बनेकाे बताएका छन् ।
साेमबार बिहान ट्वीट गर्दै पाैडेलले किसान आन्दोलनमा एक्येबद्धता जनाउँदै किसानहरूकाे माग पुरा गर्न सरकारसँग माग समेत गरे । ‘नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएका छन् । मिल मालिक र सरकारमा रहेकाहरुको मिलिभगत र लापरवाहीको शिकार बनेका किसानहरु प्रति पूर्ण सहानुभूति र एक्येबद्धता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आह्वान गर्दछु,’ पौडेलले लेखेका छन् ।
आइतबारदेखि किसानहरू काठमाडाैंकाे माइतीघर मण्डलामा आन्दोलनरत् छन् । उनीहरूले सरकारले बक्याैता रकम हातमा नथमाएसम्म घर नफर्कने बताएका छन् । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूकाे भनाइ छ ।




