काठमाडौं । हुम्लामा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सिमकोट गाउँपालिका-७ डाँडाफयामा शुक्रबार राति पौने ११ बजे लु २ च २१०२ नम्बरको बलेरो जिप दुर्घटना भएको हो ।
दुर्घटना बच्चासहित सातजना घाइते भएको हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले जानकारी दिए ।
घाइते सातैजनाको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।
बेलेरो जिप मूल सडकभन्दा करिब ६०० मिटर दक्षिणमा खसेको हो । जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए ।




