काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार मात्रै एकजना पुरुषमा कोरोना पुष्टि भएको हो ।
एकजना ६५ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमितमध्ये तीनजना निको भएर घर फर्किएका छन् भने २८ जना अझै अस्पतालमा उपचाररत छन् । मन्त्रालयका अनुसार संक्रमित ६५ वर्षीय पुरुष पनि भारतीय हुन् । ती पुरुष शुक्रबार उदयपुरको भुल्के मस्जिदमा रहेका १२ जना संक्रमित समूहकै रहेका मन्त्रालयले जनाएको छ ।
उनी पनि भारतीय नागरिक भएको मन्त्रालयले जनाएको छ । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १२ भारतीयसहित १६ जना मुस्लिम समुदायका मानिसहरुमा कोरोना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
वीरगन्जको मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टिपछि उदयपुरमासमेत अनुगमन गरिएको थियो । मस्जिदमै पुगेर लिइएको आरडीटी टेस्टमा कोरोना पुष्टि नभएपछि स्वाब बिराटनगरमा लगेर गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो ।




