काठमाडौं । यस वर्षको महाशिवरात्रिका लागि पशुपति मन्दिरमा सम्पूर्ण तयारी पूरा भएको छ । नेपालका मात्र नभएर विश्वका हिन्दु धर्मावलम्बीहरुले महाशिवरात्रि पर्वलाई विशेष महत्त्वका साथ मान्ने गरेका छन् । त्यस दिन श्रीपशुपतिनाथको दर्शन गर्न निकै ठूलो संख्यामा दर्शनार्थी आउने गरेका छन् ।
यस वर्षको शिवरात्रिमा पशुपति क्षेत्र विकास कोषसँगै सुरक्षा निकाय, विभिन्न धार्मिक-सामाजिक संघसंस्थाहरु, सेवा प्रदायक सरकारी एवं गैरसरकारी निकायहरु, स्वतः स्फूर्तरुपमा खटिनेछन् ।
लाखौंको संख्यामा आउने दर्शनार्थी, भक्तजनहरुको संख्या र समग्र व्यस्थापनलाई समेत मध्यनजर राखी पशुपति क्षेत्र विकास कोषले माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष माननीय योगेश भट्टराईको संयोजकत्वमा १११ सदस्यीय महाशिवरात्रि व्यवस्था मूल समिति २०७६ को गठन गरेको छ ।
कार्य सम्पादन गर्न गठित समिति र उपसमितिहरु अन्तर्गत सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनसन्धान विभागका समेत सुरक्षाकर्मी, जनशक्ति मेला अवधिभर परिचालन गरिनेछ। सादा पोसाकमा समेत प्रहरीहरु परिचालन गरी मेला क्षेत्रको विशेष अनुगमन गरिनेछ।
साथै स्वयंसेवकको रुपमा नेपाल स्काउट समेतका गरी करिब पाँच हजार स्वयंसेवक परिचालन गरिनेछ । स्वयंसेवकहरु दर्शनार्थीको लाइनमा सहजीकरणका लागि कोर क्षेत्र बाहिर मात्र परिचालित हुनेछन् ।
सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ताचप्पल, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पुजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, साधुसन्त सेवा, दर्शन मार्ग, पार्किङ तथा ट्राफिक व्यवस्थापन, धार्मिक कार्यक्रम, साजसजावट उपसमिति गठन र जिम्मेवारी वाँडफाँट गरिएको छ ।




