काठमाडौं । तराई मधेसको सबैभन्दा ठूलो पर्व छठ बिहीबारदेखि विधिवत रुपमा सुरु भएको छ। छठअन्तर्गत बिहीबार पहिलो दिन ‘नहाय-खाय’ विधि गरिन्छ ।
आजको दिनलाई ‘अरबा-अरबाइन’ पनि भनिन्छ । छठका व्रतालुहरु नुहाएर कोदो, ‘मसोरोको दाल’ लगायत प्याज लसुन बिहीबारदेखि पर्व सम्पन्न नभएसम्म त्याग गर्नुपर्छ ।छठपर्वमा साठी प्रकारको वस्तु चाहिने भनिन्छ, तिनमा गम्हरीलाई कुटेर त्यसको केही कमी रहन गएमा गम्हरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने लोकविश्वास छ । चामललाई पर्वका अवसरमा बनाइने नैवेद्यका लागि उपयोग गरिन्छ ।
आरोग्य लाभ मुख्य उद्देश्य भएको छठपर्व उत्सवको रूपमा मात्र नभई कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ ।
चोखोपना, संयम र पूर्ण ब्रहृमचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास पाइन्छ ।
छठपर्वको पूजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुने निश्चित मानिएको छ ।
त्यस्तै छठको मूल दिन शनिबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट आइतबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ ।
बिहानीको अर्घ्य दिएपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ ।




