काठमाडौं । अमेरिकाले गैरकानुनीरुपमा बस्दै आएका आप्रवासीलाई उनीहरुकै देश फिर्ता गर्न फास्ट ट्रयाक प्रक्रिया अपनाउने भएको छ ।कानुनी दायरामा नआएका या कानुनसम्वत् आप्रवासी वन्नका लागि कागजात पूरा गर्न नसकेकालाई उनीहरुकै देश फर्काउन अमेरिकाले फास्ट ट्रयाक प्रक्रिया अपनाउने भएको हो ।
आप्रवासीसम्बन्धी अमेरिकी रणनीति पछिल्लो समय अनुसन्धान या सुक्ष्म निरीक्षणको घेरामा आएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ नीति ल्याउन लागेको हो । आप्रवासीसम्बन्धी अदालतलाई ‘बाइपास’ गर्न अमेरिकाले ‘डिपोर्टेसन’ का लागि नयाँ प्रक्रिया सुरु गर्ने भएको हो ।
नयाँ नियमअनुसार आफू पछिल्लो दुई वर्षदेखि लगातार अमेरिकामै रहेको प्रमाणित गर्न नसक्ने आप्रवासीलाई अमेरिकाले तत्काल फिर्ता गर्न सक्ने छ । नयाँ नीति सार्वजनिक भएपछि अमेरिकाभर यो लागू हुने छ ।
तर अधिकारवादी समूह अमेरिकन सिभिल लिबर्टिज युनियनले भने नयाँ नीतिविरुद्ध अदालत जाने जनाएको छ । विशेषगरी मेक्सिकोसँग सीमा जोडिएको अमेरिकाको दक्षिणी क्षेत्रमा रहेका डिटेन्सन सेन्टरको अवस्था तथा त्यहाँ बालबालिकाको नाजुक बसाईलाई लिएर अमेरिकाको आलोचना हुँदै आएको छ ।
सन् २०२० मा हुने राष्ट्रपति चुनावका लागि आफ्नो अभियानलाई बलियो बनाउनका लागि राष्ट्रपति ट्रम्पले आप्रवासीसम्बन्धी रणनीति थप कडा बनाउने तयारी गरेको विश्लेषकले बताएका छन् । (एजेन्सी)
प्रतिकृया दिनुहॊस