लोकसेवा विज्ञापनको विरोध गर्ने क्रममा जनकपुरबाट पक्राउ परेकाहरु सर्तसहित रिहा

जनकपुर । लोकसेवा विज्ञापनको विरोधमा जनकपुरमा प्रदर्शन गरिरहेको बेला पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले रिहा गरेको छ। लोकसेवा आयोगले  आरक्षण हटाएर गरेको विज्ञापन खारेजीको माग गर्दै जनकपुरमा लोकसेवा विरुद्ध गरिएको आन्दोलनको क्रममा डेढ दर्जन प्रदर्शनकारीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको थियो।

जनकपुरको जनकचोकमा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुतला जलाएपछि प्रदर्शनकारीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको थियो। करिब अढाई घन्टापछि राजपाका जिल्ला अध्यक्ष सञ्जय सिँहले जमानत दिएपछि उनीहरुलाई शुक्रबार रिहा गरिएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जनाए।

लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनमा आरक्षण कटौती गरेको, मधेशी, थारु, जनजाती लगायतलाई उपेक्षित गरेको भन्दै विभिन्न पार्टीका भातृ संगठन, तराई मधेश राष्ट्रिय परिषद, आदिवासी जनजाति महासंघ, दलित, मुश्लिम लगायतका संघसंस्थाहरूको साझा मोर्चाहरुले ‘आरक्षण बचाउ आन्दोलन’ मूल नारा दिएर शुक्रबार प्रदर्शन गरेका थिए।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले उनीहरुले आम जनतालाई कठिनाइ हुने गरी कार्यक्रम जस्तै चक्काजाम, पुतला दहन जस्ता कार्यक्रमहरु सार्वजनिक स्थलमा गरेको भन्दै जनतालाई सहजता प्रदान गर्न उनीहरुलाई केहीबेर नियन्त्रणमा लिएको र अब त्यस्तो नगर्ने सर्तमा उनीहरुलाई रिहा गरिएको बताए।

प्रदर्शनको क्रममा राजपाका विद्यार्थी नेता प्रशान्त झा, किसन साह, नवीन यादव, इजाज अन्सारी, कमलेश यादव, दिपु कापरी, बलराम, सत्रुधन, राहुल राज यादव, मोनाजिन राईन, दिनेश यादव लगायतकालाई पक्राउ गरिएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री