काठमाडाैँ । कुल ७५३ स्थानीय तहमध्ये २९ स्थानीय तहमा बैंक पुगेका छैनन् । ७२४ स्थानीय तहमा बैंक पुगिसकेका छन् । बाटोघाटो, विद्युत्, इन्टरनेट, सुरक्षा, भौगोलिक विकटतालगायत कारण देखाउँदै दुर्गममा जान नमानेका बैंक यतिबेला भने घर भाडामा तथा केन्द्र विवादलगायतका कारण ती स्थानीय तहमा बैंक जान नसकेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, ‘घर भाडामा नपाएर शाखा विस्तारमा समस्या परेको छ ।’ बैंकहरूले कतै घर भाडा नपाएर त कतै केन्द्र विवादले शाखा विस्तारमा समस्या भएको प्रवक्ता पौडेलको भनाइ छ । अब छिट्टै बाँकी स्थानीय तहमा बैंक पुग्ने उनले बताए । सबै स्थानीय तहमा बैंक पु¥याउन यसअघि समय थपिएको थियो । समय थपेरै भए पनि सबै स्थानीय तहमा बैंकका शाखा पु¥याउन राष्ट्र बैंक लागिपरेको छ ।
राष्ट्र बैंकका अनुसार २०७५ फागुनसम्म ७१३ तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । गत असारसम्म बैंक तथा वित्तीय संस्थाको कुल संख्या १५१ रहेकोमा २०७५ फागुन मसान्तमा १६७ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार फागुन मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ८२ लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन् । राष्ट्र बैंकको फागुनसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १३०, प्रदेश २ मा १३३, प्रदेश ३ मा ११४, गण्डकी प्रदेशमा ८२, प्रदेश ५ मा १०७ र कर्णाली प्रदेशमा ६५ तथा सुदूरपश्चिम प्रदेशमा ८२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।
फागुनसम्म बैंक तथा वित्तीय संस्थाका शाखा ८ हजार ५५ वटा पुगेका छन् । जसमा वाणिज्य बैंकका ३ हजार ३०५, विकास बैंकका १ हजार १९६, वित्त कम्पनीका २ सय तथा लघुवित्त कम्पनीका ३ हजार ३५४ रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक नपुगेका स्थानीय तह
मेरिङदेन गाउँपालिका, चिसंखुगढी गाउँपालिका, मिक्वाखोला गाउँपालिका, देवानगन्ज गाउँपालिका, जिराभवानी गाउँपालिका, धनुषाधाम नगरपालिका, रुवी भ्याली गाउँपालिका, नेत्रावती गाउँपालिका, नार्फु गाउँपालिका, गण्डकी गाउँपालिका, धार्चे गाउँपालिका, मालारानी गाउँपालिका, काइके गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका, मुगुमकार्मारोंग गाउँपालिका, ठाँटीकाँध गाउँपालिका, महाबु गाउँपालिका, महावै गाउँपालिका, कुसे गाउँपालिका, सेफोक्सुन्डो गाउँपालिका, खार्पुनाथ गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, काँडा गाउँपालिका, थलारा गाउँपालिका, गौमुल गाउँपालिका, बडीकेदार गाउँपालिका, बूढीनन्दा नगरपालिका



