काठमाडौं । मुलुकभर सञ्चालनमा रहेका २३ भन्सार कार्यालयमध्ये ११ ओटा भन्सार कार्यालयबाट कुनै पनि वस्तु निर्यात नभएको पाइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको नौ महीनाको विवरणमा ती भन्सार कार्यालयबाट कुनै पनि प्रकारको निर्यात नभई शून्य अवस्थामा रहेको पाइएको हो ।
विभागका अनुसार जलेश्वर, सुथौली, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर, महेशपुर, सिरहा, राजविराज, टाँडी र सेती भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको नौ महीनामा कुनै पनि सामग्री निर्यात भएका छैनन् । राजस्व संकलनका लागि भन्दै सरकारले जनशक्ति एवं साधन र स्रोत उपलब्ध गराएको भए पनि निर्यात हुन नसकेको पाइएको हो । ती भन्सार कार्यालयमध्ये टाँडी र सेती भन्सार कार्यालयबाट आयातसमेत नभएको पाइएको छ । यस्तै गौर भन्सार कार्यालयबाट पनि शून्य दशमलव १६ प्रतिशत मात्रै निर्यात भएको पाइएको छ ।
विभागका अनुसार वीरगञ्ज भन्सार कार्यालयबाट आयात र निर्यातको मात्रा बढी छ । वीरगञ्ज भन्सार कार्यालयबाट रू. ३ खर्ब ६७ अर्ब बराबरको आयात भएको छ । प्रतिशतका आधारमा सो भन्सार कार्यालयबाट ३४दशमलव ५६ प्रतिशत सामान आयात भएको छ । उक्त भन्सार कार्यालयबाट रू. १४ अर्ब ४९ करोड बराबरको निर्यात भएको छ ।
दोस्रो स्थानमा भैरहवा भन्सार कार्यालय रहेको छ । सो भन्सार कार्यालयले रू.१ खर्ब ७८ अर्ब ९६ करोड ८३ लाख ४ हजार बराबरको सरसामान आयात भएको छ । प्रतिशतका आधारमा १६ दशमलव ८६ प्रतिशत सामान सो भन्सार कार्यालयबाट आयात भएको छ । चालू आवको नौ महीनाको अवधिमा भैरहवा भन्सारबाट रू.२ अर्ब ७३ करोड ४१ लाख २२ हजार बराबरको सामान निर्यात भएको छ । विराटनगर भन्सार कार्यालय हुँदै रू. १ खर्ब ३१ अर्ब बराबरको आयात हुँदा करीब रू. २१ अर्ब बराबरको निर्यात भएको विभागले जानकारी दिएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार हुँदै रू.१ खर्ब ३० अर्ब ९५ करोड ५ लाख २८ हजार बराबरको सामान आयात हुँदा रू.१७ अर्ब ७५ करोड बराबरको निर्यात भएको छ । निर्यातका आधारमा हेर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट निर्यात बढी भएको पाइएको छ ।
वीरगञ्ज सुक्खा बन्दरगाहबाट रू.१ खर्ब ९ अर्ब ४ करोड ४१ लाख ३९ हजार बराबरको आयात हुँदा रू.३ अर्ब २२ करोड ३ लाख ४१ हजार बराबरको निर्यात भएको छ । नेपालगञ्ज भन्सारबाट चालू आवको नौ महीनामा रू. ४० अर्ब ९१ करोड ८ लाख ५२ हजार बराबरको आयात हुँदा रू. १ अर्ब ८० करोड ९७ लाख ८१ हजार बराबरको निर्यात भएको छ ।
उत्तरी छिमेकी चीनसँगको कारोवार हुने एकमात्र स्थल नाका रसुवागढी भन्सार कार्यालय हुँदै रू. ३१ अर्ब ५८ करोड २४ लाख ७४ हजार बराबरको आयात भएको छ । सो भन्सार हुँदै रू. ८४ करोड ९२ लाख ४९ हजार बराबरको मात्रै निर्यात भएको छ ।
मेची भन्सार कार्यालयबाट रू. ३० अर्ब ४७ करोड ७१ लाख ७२ हजार बराबरको आयात हुँदा रू. ६ अर्ब ८७ करोड ४७ लाख ५७ हजार बराबरको निर्यात भएको छ । कृष्णनगर भन्सार कार्यालयले सो अवधिमा रू. १८ अर्ब २० करोड ९१ लाख ९० हजार बराबरको आयात हुँदा रू. ३२ करोड १५ लाख २७ हजार बराबरको निर्यात हुन सकेको छ ।




