काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स एशोसिएसनबीच ब्याजदर र सेवा शुल्क बारे मुद्दामा आइसब्रेक भएको छ। महासंघमा सोमबार भएको छलफलमा महासंघले राखेका तीन वटा मुद्दा संबोधन गर्न एशोसिएसन तयार भएको छ। चर्को ब्याजदर निर्धारण गरेको भन्दै पूर्वका व्यापारीले आन्दोलनलाई महासंघले समेत समर्थन जनाएपछि बैकर र उद्योगीबीच असमझदारी चुलिएको थियो।
महासंघ स्रोतका अनुसार स्प्रेडदर चार प्रतिशत भन्दा माथि राख्न नहुने, ऋणका लागि पेश गर्नुपर्ने डकुमेन्ट एकैखाले हुनुपर्ने र सेवा शुल्कमा समेत एकरुपता हुनुपर्ने माग उद्योगीको थियो। अहिले ऋण लिन जाँदा २८ वटै वाणिज्य बैंकका फरकरफरक प्रस्तावसहितको डकुमेन्ट चाहिने भन्दै ऋण लिन कठिन हुने गरेको उद्योगीको जिकिर छ।
दुबै पक्षबीच सौहार्दपूर्ण वातावरणमा छलफल मात्रै होइन उद्योगीले राखेका मुद्दा संबोधन गर्न बैकर तयार देखिएका थिए।‘ब्याज आन्दोलनपछि बैकर र उद्योगीबीच ठूलो दरार उत्पन्न भएको थियो। त्यो दरार कम गर्न आजको छलफल महत्वपूर्ण सावित भएको थियो’ स्रोतले भन्यो।
एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले उद्योगीले उठाएको मुद्दा एशोसिएसनमा छलफल गरेर संबोधनको प्रयास गरिने बताएका थिए।‘यहाँ उठेका मुद्दालाई एशोसिएसनमा छलफल गरेर टुंगोमा पुग्नुपर्छ। केही मुद्दामा राष्ट्र बैंकको समेत सहभागिता आवश्यक रहन्छ’ढुंगानाले भनेका थिए। स्रोतका अनुसार सेवा शुल्क एकरुपताका लागि राष्ट्र बैंक, एफएनसीसीआई र बैकर्स एशोसिएसनको त्रिपक्षीय कमिटी बनाएर समस्या हल गर्ने सहमति भएको छ।



