काठमाडाैँ । बार्सिलोनाले यो सिजन पनि स्पेनिस ला लिगा फुटबलको उपाधि आफ्नो पोल्टामा पार्ने सम्भावना बलियो बनाउँदै गएको छ ।
साबिक विजेता बार्सिलोनाले लिग अन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लामाथि ४–२ को जित निकालेको छ । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा २–१ ले पछि परेर पनि बार्सिलोनाले शानदार जित दर्ता गरेको हो ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे । यस्तै लुइस स्वारेजले एक गोल गरे । सेभिल्लाका लागि नाभास र मेर्काडोले एक एक गोल गरे । २२ औँ मिनेटमा नाभासको गोलबाट सेभिल्लाले सुरुवाति अग्रता लियो ।
२६ औँ मिनेटमा मेस्सीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ४२ औँ मिनेटमा मेर्काडोले गोल गरेपछि पहिलो हाफमा सेभिल्लाले २–१ को अग्रता लियो ।
तर दोस्रा हाफमा बार्सिलोनाले थप तीन गोल गर्न सफल भयो । मेस्सीले ६७ र ८५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीले आफ्नो खेल जीवनमा ५० औँ ह्याट्रिक गरेका छन् ।
यस्तै स्वारेजले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेपछि बार्सिलोना ४–२ ले विजयी भयो । जितपछि शीर्षस्थानको बार्सिलोनाको २५ खेलबाट ५७ अंक भएको छ ।
एक खेल कम खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिडको १० अंक कम अर्थात ४७ अंक छ र तेस्रो स्थानको रियल मड्रिडको ४५ अंक छ ।
शनिबार राति नै भएका अरु खेलमा गेटाफेले रायो भालेकानोलाई २–१ तथा एथ्लेटिको बिल्बाओले एइबरलाई १–० ले हरायो । एलाभेस र सेल्टा डी भिगोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिकृया दिनुहॊस