काठमाडाैँ। कोलकाता बन्दरगाहले आजदेखि इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम (इसिटिएस) कार्यान्वयनमा ल्याउने भएको छ। अब तेस्रो मुलुकबाट आउने सामान इसिटिएस प्रणालीमार्फत आएपछि कागजपत्रको झझण्ट कम हुनेछ। तेस्रो मुलुकबाट आएको सामान कोलकातामा कागजात जाँचपासको प्रकृयाका लागि लामो समय लाग्दैन्। वीरगंज उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै इसिटिएस प्रणाली कार्यान्वयनमा आएपछि ढुवानी लागत सस्तिने दाबी गरेको छ।
विगत ८ महीनादेखि विशाखापट्टनम्बाट इसिटिएसको सुविधा उपलब्ध छ । हाल रेल्वेको कन्टेनरमा यो सुविधा शुरु गर्ने र डेढ महिनापछि कोलकाताबाट ट्रकमा आउने कन्टेनरमा समेत इसिटिएसको सुविधा जडान गर्ने बताइएको छ ।
कोलकाता बन्दरगाहबाट परम्परागत रूपमा कन्टेनर ल्याउँदा सिपिङ एजेन्सीको कोलकातास्थित परिसरमा २१ दिनभित्र कन्टेनर फिर्ता पठाइसक्नुपर्छ। तर ट्रान्ससिपमेन्ट मोडलमा ल्याउँदा त्यो झन्झट पर्दैन ।
२१ दिनभित्र कन्टेनर नपुगे दिनको ४५ देखि १०५ डलर प्रति कन्टेनर डिटेन्सन खर्च लाग्छ । अब यो खर्च जोगिएको छ ।कोलकाता बन्दरगाहबाट परम्परागत रूपमा मालसामान छुटाएर ट्रेलरमा कन्टेनर हालेर ल्याउँदा कोलकाता बन्दरगाहमा ८ प्रकारका कागजात जुटाउनुपर्छ । ती कागजातमा कस्टम ट्रान्जिट डिक्लियरेसन फर्म (सिटिडी फर्म), इन्भ्वाइस, बिल अफ लेडिङ, प्याकिङ लिस्ट, लेटर अफ अन्डरटेकिङ, इम्पोर्ट लाइसेन्स अफ नेपाल, इन्सुरेन्सको कागज, एलसी वा ड्राफ्ट हुन् ।
पहिला कोलकाता बन्दरगाह र भन्सारका अधिकारी गरी ३० चरण पार गर्नुपर्छ र २२ वटा दस्तखत गराउनुपर्छ । नेपाल पठाएको कन्टेनरलाई बन्दरगाहस्थित भन्सार कार्यालयले एक इलेक्ट्रोनिक डिभाइस लगाएर सिधै नेपाल पठाइदिन्छ । यसका लागि भारतीय रेलको एक शाखा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड (कनकोर)ले बन्दरगाहमा लेखेर दिनुपर्ने हुन्छ ।




