काठमाडौं । लमजुङमा निर्माणाधीन २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना ८० प्रतिशत पूरा भएको छ । दोर्दी खोलामा निर्माणाधीन आयोजनाको बाँध, सुरुङ र विद्युतगृहको प्रगति एकसाथ भइरहेको हो । बाँध क्षेत्रमा अब आयोजनाको २७ सय ७० मिटर लामो मूल्य सुरुङको काम अन्तिम चरणमा पुगेको छ । अब सुरुङ छेडिन ५ सय मिटर बाँकी रहेको हिमालयन पावर पार्टनर कम्पनीका कार्यकारी निर्देशक गुरूप्रसाद ढकालले बताएका छन्। आगामी चैतभित्र सुरुङ पूरा गर्ने लक्ष्य छ । आयोजनाको मुख्य सुरुङ निर्माणमा भौगोलिक जटिलताका कारण समस्या देखिएपछि कम्पनीले ठेकेदार परिवर्तन गरिएको थियो ।
अहिले मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले सुरुङ निर्माण गरिरहेको छ । यसअघि इको इन्फ्रा व्युल्डर्सलाई सुरुङ निर्माणको ठेक्का दिइएको थियो । आयोजनामा २ हजार ६ सय मिटर पाइप लाइन गरी डिजाइन गरिएको छ । विद्युतगृहको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । विद्युतगृहको संरचना निर्माणको काम पूरा गरेर आगामी चैतबाट इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सुरु गरिने कम्पनीले जनाएको छ । आयोजनाबाट २०७६ भदौबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
उत्पादन हुने विद्युत प्राधिकरणको उदिपुर सबस्टेसनमा लगेर जोडिनेछ । आयोजना अन्तिम चरणमा पुगे पनि प्राधिकरणले सबस्टेसनको संरचना निर्माणको काम सुरु गरिनसकेकाले विद्युत खेर जाने चिन्दा बढेको छ ।
४ अर्ब २३ करोड रुपैयाँ अनुमानित लागतमा आयोजना पूरा गर्ने लक्ष्य छ । आयोजनामा प्राइम कमर्सियल बैंकको अगुवाइमा ८ बैंकले ३ अर्ब १७ करोड रुपैयाँ लगानी गरेको छ ।
प्रतिकृया दिनुहॊस