दुर्घटना बढेपछि टिपर र ट्रकलाई टाइम कार्ड

भैरहवा । रुपन्देहीमा टिपर र ट्रकबाट सडक दुर्घटना बढेपछि टाइम कार्ड लागू गरिएको छ। प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीमा दुर्घटना न्यूनीकरणका लागि टिपर र ट्रकका लागि टाइम कार्ड लागू गरिएको प्रहरीले जनाएको छ।

बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्नका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले टाइम कार्ड लागू गरेको हो। टिपर र ट्रकका कारण सडक दुर्घटना अत्याधिक बढेको भन्दै ट्राफिक प्रहरीले टाइम कार्डलाई अनिवार्य गराएको जनाएको छ।

निश्चित समय र स्पिडमा मात्र टिप्पर र ट्रकहरुलाई सडकमा गुड्न दिनेगरी टाइम कार्ड  अनिवार्य गराइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए।

रुपन्देहीको सिद्धबाबाबाट आउने–जाने टिपर र ट्रकले अनिवार्य टाइम कार्ड लिनुपर्ने र टाइम कार्ड नभए कानुनअनुसार कारबाही गरिने प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए। टाइम कार्डअनुसार टिपर र ट्रक नचलाएमा चालकलाई तत्काल कारबाही गरिने प्रहरीले जनाएको छ।

टाइम कार्डअनुसार अब सडकमा टिपिर र ट्रक गुडाउँदा ३० को स्पिडभन्दा बढी गुडाउन पाइने छैन भने चालकले तोकेको स्थानमा अनिवार्य टाइम कार्ड देखाई इन्ट्री गर्नुपर्ने छ।

सिद्धबाबादेखि धागो कारखानासम्मको ७ किलोमिटर दूरीको लागि ३० को स्पिडमा २१ मिनेट, धागो कारखाना रामनगरदेखि नवलपरासीको सुनवलसम्मको २३ किलोमिटर दूरीको लागि ४६ मिनेटको समय तोकिएको छ।

त्यस्तै नवलपरासीको सुनवलदेखि बर्दघाटको १७ किलोमिटरको दूरीको लागि ३४ मिनेट, सिद्धबाबादेखि मंगलापुरको १५ किलोमिटरको दूरीको लागि ३० मिनेट, मंगलापुरदेखि भैरहवाको अञ्चलपुरसम्मको ९ किलोमिटरको दूरीको लागि १८ मिनेट समय तोकिएको छ।

त्यस्तै गोरुसिंगे–मुर्गियाको ३२ किलोमिटरको दूरीका लागि ६४ मिनेट, मुर्गियादेखि धागो कारखाना रामनगरसम्मको २० किलोमिटरको दूरीको लागि ४० मिनेट र मुर्गियादेखि मंगलापुरसम्मको २४ किलोमिटरको दूरीको लागि ४८ मिनेट समय तोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको टाइम कार्डमा समय तोकिएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयले चालकहरुलाई टाइम कार्ड वितरण गरी प्रशिक्षण समेत दिएको छ ।

ट्रक तथा टिपरमा टाइम कार्ड लागू गरिएसँगै चेक पोस्टमा इन्ट्री गराएर मात्रै जाने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस