देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प

काठमाडाैँ । नेपाल चिकित्सक संघले आज (शुक्रबार) देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प पारेको जनाएको छ। चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औं पटक अनशनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा आकस्मिकबाहेक बिहानैदेखि सबै सेवा बन्द गरिएको चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए। ‘आज एक दिनका लागि बन्द गराएका हौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘यदि सरकारले समस्या समाधानका लागि अझै पहल गरेन भने यो लम्बिन सक्छ।’

यसअघि देशभरका अस्पताल हातामा चिकित्सकहरू रिले अनशनमा बसेका थिए। तर सरकारले कुनै सुनुवाइ नगरेकाले कडा संघर्षमा उत्रनुपरेको चिकित्सक संघका अध्यक्ष श्रेष्ठको भनाइ छ।  यसरी अस्पताल बन्द गरेर बिरामीलाई स्वास्थ्य उपचारबाट बञ्चित गर्नु उचित हो त भन्ने नेपालखबरको प्रश्नमा डा. श्रेष्ठले भने, ‘डा. केसीको अनशन गरिब, निमुखा जनताका लागि हो, भविष्यलाई राम्रो हुन्छ भने एक दिनको मर्का सहनुपर्छ।’

चिकित्सक संघले सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गरिएकाे जनाएको छ। यसबारे संघले हिजै (बिहीबार) विज्ञप्ति जारी गरी जानकारी गराएको थियो। जसमा संघले आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार सरकार नै हुने उल्लेख गरेको छ। १५औं अनशन तोडाउने बेला ओली सरकारले आफूसँग गरेको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संशोधन हुनुपर्ने माग गर्दै डा. केसी गत पुस २५ गतेदेखि १६औं अनशनमा बसेका हुन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस