नुवाकोट जिल्ला अस्पतालमा रगतको अभाव भएको छ। त्रिशूलीस्थित अस्पतालमा नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा रगत अभाव भएको हो।
गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी गराउन रगत अत्यावश्यक हुन्छ। तर रगत गर्भवतीका आफन्तले नै खोज्नुपर्ने बाध्यता रहेको अस्पतालस्थित रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताइन्। उनका अनुसार जिल्ला अस्पतालमा सामान्यतया दैनिक १० जनासम्म सुत्केरी हुने गर्छन्।
अस्पतालका डा. मधुकर दाहालका अनुसार धेरैजसो शल्यक्रिया गरी बच्चा जन्माउने गरिएको छ।
उनले भने, ‘सुत्केरीको अवस्था गम्भीर भएपछि शल्यक्रिया गर्न हतारिनु पर्छ, तर रगत अभावले समस्या हुन्छ।’ सुत्केरी गराउन आउनेलाई पहिला नै रगतको जोहो गर्न आग्रह गर्ने गरिएको डा. दाहालले बताए।
दुर्घटनाका घाइतेलाई उपचार गर्न सधैं रगत अभाव हुने गरेको अस्पतालले जनाएको छ। जिल्ला अस्पतालमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले रक्तसञ्चार केन्द्र सञ्चालन गरेको छ। केन्द्रले रक्तदान कार्यक्रम तथा दातालाई सम्पर्क गरी रगत संकलन गर्ने गरे पनि पछिल्लो समय रक्तदान कार्यक्रम नहँुदा रगत अभाव भएको हो।
केन्द्र प्रमुख श्रेष्ठका अनुसार हरेक महीना कुन संस्थाले रक्तदान गर्ने, कुन समूहको रगत कुन दाताबाट संकलन गर्ने भनेर तालिका बनाए पनि त्यो कार्यान्वयन नहुँदा रगत अभाव भएको हो।
केन्द्रसँग भएका एक हजारभन्दा बढी रक्तदाताको सम्पर्क विवरणबाट रगत संकलनका लागि सहयोग लिने गरिएको छ।
दाताबाट संकलन गरेको गरेको रगतलाई रक्त सञ्चार केन्द्रले स्वास्थ्य जाँच तथा परीक्षणका लागि ८०० रुपैयाँ शुल्क लिई उपलब्ध गराउने गरेको छ।
केन्द्रमा रगत अभाव हुँदा यहाँका बिरामीका लागि नेपाली सेनाको श्रीनाथ गण देवीघाटमा कार्यरत सैनिक र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीबाट रगत संकलन गर्ने गरिएको छ।




