मलेसिया । मलेसियामा बाहलवाला राजाले पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन हुँदैछन्। नयाँ राजा चयनसँगै पदबहाली समारोह पनि यही महिना गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुले बताएका छन्। मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा चयन गर्ने अनौठो प्रचलन छ।
पछिल्ला राजा सुल्तान मुहम्मद पाँचौँले आफ्नो कार्यकाल पुरा नहुँदै आईतबारदेखि लागु हुनेगरी राजगद्दी त्यागेको घोषणा गरेपछि नयाँ राजाको खोजीका लागि निर्वाचन भएको हो
।
रूसी पूर्व सुन्दरीसँग विवाह गरेकाले मुहम्द पाँचौँले समय अगावै राजगद्दी त्यागेको अनुमान गरिएको छ।
मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो। उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए।
राजा सुल्तानले दुई बर्ष अगाडी राजगद्दी सम्हालेका थिए। राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण भने खुलाएको छैन।
राजप्रासाद कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५औं राजाका रुपमा गद्दी त्याग गरेको घोषणा गर्नुभएको छ।”
नयाँ राजा चयन गर्नका लागि यही जनवरी २४ तारिखका दिन सम्बन्धित निकायको बैठक बोलाइएको अधिकारीहरुले जनाएका छन्। नयाँ चयन भएका राजाले जनवरी ३१ मा पदबहाली हुनेछ।
नयाँ राजाको पदबहाली समारोहलाई भव्य बनाइने छ। नयाँ राजालाई सुरक्षाकर्मीहरूले सम्मानस्वरूप सलामी चढाउने छन् भने मुस्लीम पुजारी र हजारौँ अतिथि परम्परागत पोशाकमा सहभागी हुनेछन्।
मुस्लिम–बहुल मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको छ। उनीहरु विषेशगरी मुस्लीम मलाय समुदायबाट चयन हुन्छन्। मलेसियामा राजालाई अति धेरै सम्मान गरिन्छ भने उनीहरुको आलोचना गर्न कडा प्रतिबन्ध लगाइएको छ।



