काठमाडौं । नेपाल टेलिकमले कर्णालीका दुर्गम र कठिन भूभागमा टुजी तथा फोरजी सेवा विस्तार गर्दै स्थानीय बासिन्दालाई पहिलोपटक आधुनिक मोबाइल सेवासँग जोडेको छ। जाजरकोट, डोल्पासहित कर्णालीका विभिन्न बस्तीहरूमा सञ्चार पहुँच अभूतपूर्व रूपमा विस्तार भएको टेलिकमले जनाएको छ।
जाजरकोटको जुनीचाँदे गाउँपालिका–कोत्राङ्गमा टावर सञ्चालनमा आएपछि वडा नं. ७, ८, ९, १० र ११ का गाउँबस्तीहरू पहिलोपटक दिगो टुजी तथा फोरजी सेवामा पहुँच भएको छ। पहाडी भौगोलिक कठिनाइका कारण वर्षौँसम्म मोबाइल सेवा नपाएका बासिन्दाले यस विस्तारलाई महत्वपूर्ण उपलब्धि मानिरहेका छन्।
यस्तै, डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकामा पनि सञ्चार सेवा अझ व्यापक भएको छ। वडा नं. १० को मिदग्ती लेकमा फोरजी टावर सञ्चालनमा आएपछि फोक्सुन्डो ट्रेल, यार्सा पाटन, छेप्का, भोक्पा, सागबारीलगायतका बस्तीहरू आधुनिक मोबाइल सेवामा जोडिएका छन्। साथसाथै, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालय तथा सैनिक ब्यारेक क्षेत्र पनि अब नवीकृत सञ्चार संरचनाबाट लाभान्वित भएका छन्।
टेलिकमका अनुसार यो विस्तारले दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अत्यावश्यक सञ्चार सुविधामा अभूतपूर्व सहजता प्रदान गरेको छ। स्थानीयले अब आपतकालीन अवस्था, स्वास्थ्य सेवा समन्वय, शिक्षा तथा दैनन्दिन सम्पर्कमा सहज पहुँच पाउने भएका छन्।
हालसम्म देशभरका ७५३ स्थानीय तहमध्ये ७४९ मा फोरजी सेवा पुर्याइसकिएको कम्पनीले जनाएको छ। प्रतिफल कम हुने, पहुँच चुनौतीपूर्ण हुने स्थानमा समेत समानरूपमा सेवा विस्तार गर्ने सरकारको नीतिअनुसार टेलिकमले दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर टावर निर्माण र सेवा सञ्चालनलाई निरन्तरता दिएको छ ।




