उपचारबाट फर्के लगत्तै देउवाको दौडधुप तीव्र

काठमाडौँ । स्वास्थ्योपचारपछि स्वदेश फर्केलगत्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको आन्तरिक राजनीतिमा सक्रिय भएका छन् । सिंगापुरबाट शुक्रबार राति काठमाडौँ फर्किएका देउवाले शनिबार साँझ आफ्नो निवासमा संस्थापन पक्षका प्रमुख चार नेताहरूसँग महत्त्वपूर्ण छलफल गरेका छन् । यस भेटघाटले काँग्रेसभित्र आसन्न निर्वाचन र महाधिवेशनको सम्भावित समयतालिकाबारेको बहसलाई थप चर्क्याएको छ ।

चुनदेवीस्थित आफ्नो भाडाको आवासमा देउवाले प्रवक्ता डा. प्रकाश शरण महत, नेताहरू एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीसँग करिब दुई घण्टा लामो कुराकानी गरेका थिए। जेएनजी आन्दोलनका क्रममा घाइते भएपछि देउवा चुनदेवीमा बस्दै आएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा. महतले सभापति देउवाले नेताहरूलाई अब चुनावी तयारीमा जुट्न निर्देशन दिएको बताए । ‘सभापतिजीले पार्टीभित्रका मनमुटावलाई सल्टाएर एकताबद्ध भई अगाडि बढ्नुपर्ने संकेत दिनुभयो,’ महतले भने, ‘उहाँको कुरा सुन्दा चुनावपछि महाधिवेशन गर्नु उपयुक्त होला भन्ने लाग्छ ।’

देउवाको यो सक्रियतासँगै काँग्रेसभित्र महाधिवेशनको समयलाई लिएर चलिरहेको बहस झनै पेचिलो बनेको छ । संस्थापन पक्षका अधिकांश नेताहरू आसन्न निर्वाचनको तयारीलाई प्राथमिकता दिँदै महाधिवेशन चुनावपछि मात्रै गर्नुपर्ने पक्षमा छन् ।

यता, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने नियमित महाधिवेशन सम्भव नभए पनि विशेष महाधिवेशन गरेर पार्टीलाई गतिशील बनाउनुपर्ने अडानमा छन् । उनीहरूले पार्टीको वैधानिकता र क्रियाशीलताका लागि महाधिवेशन अपरिहार्य रहेको तर्क गर्दै आएका छन् ।

संस्थापन इतरका नेता डा. शेखर कोइराला समूह पनि चुनावअघि नै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा दृढ देखिन्छ । यसअघि संस्थापन पक्षभित्रकै २५ केन्द्रीय सदस्यले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउँदै चुनावअघि नै महाधिवेशनको माग गरेका थिए । यसले देउवा समूहभित्र पनि महाधिवेशनको समयतालिकाबारे एकमत नरहेको स्पष्ट पारेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप