काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ‘सुशासन’ माथि तिखो व्यंग्य प्रहार गरेका छन् । उनले आफू र रमेश लेखकलाई पक्राउ गरी थुन्नु नै अहिलेको सरकारका लागि सुशासन भएको टिप्पणी गरेका छन् ।
आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले सरकारले ‘जेनजी’ (जेनेरेसन जी) लाई संगठित गरी कृत्रिम दबाब सिर्जना गर्ने नाटक गरिरहेको आरोप लगाए । “अहिले सरकारमा हुनेहरूले सुशासन भनेको केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु भन्ने बुझेका छन्,” ओलीले भने, “र, त्यसका निम्ति जेनजीहरूलाई संगठित गर्नु, उनीहरूको मागपत्र लेखिदिनु, पढ्न लगाउनु, हातमा थमाउनु, डेलिगेसन बोलाउने र सञ्चारकर्मी अगाडि सरकार दबाबमा छ भन्ने आर्टिफिसियल ड्रामा तयार भएको छ ।”
ओलीले जेनजीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले र कहाँ ड्राफ्ट गरेको भन्ने आफूलाई राम्ररी थाहा भएको समेत खुलासा गरे । उनले यो सबै ‘कलाविहीन नाटक’ भएको र आफूहरू बिना पैसामा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य भएको बताए ।
“जेनजीहरूको मागपत्र हेरेको थिएँ, कसले ड्राफ्ट गरेको मलाई समेत थाहा छ । कहाँ पढाइएको जेनजीलाई थाहा छ, को अर्गनाइजर भएको छ त्यो पनि थाहा छ,” ओलीले थपे, “जे होस्, एउटा तमासा भयो । हामीले बिना पैसा यो असंवैधानिक सरकारको तमासा हेर्न पाएका छौँ । कलाविहीन नाटक छ, त्यो हेरिरहेका छौँ ।”
पूर्वप्रधानमन्त्री ओलीको यो भनाइले वर्तमान सरकार र यसका कार्यशैलीप्रति उनको तीव्र असन्तुष्टि र आक्रोश झल्काएको छ । उनले सरकारले वास्तविक सुशासनको सट्टा राजनीतिक प्रतिशोध र कृत्रिम जनमत सिर्जनामा ध्यान दिएको आरोप लगाएका छन् ।




