प्रभु इन्स्योरेन्सको पहिलो त्रैमासिक प्रतिवेदन : नाफा र सूचकमा लोभलाग्दो प्रगति

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै नाफासहित अधिकांश प्रमुख वित्तीय सूचकहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ। कम्पनीले यस अवधिमा आफ्नो वित्तीय प्रदर्शनमा निरन्तर सुधारको संकेत दिएको छ, जसले लगानीकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

नाफामा १२.७२ प्रतिशतको वृद्धि
कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७२ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा कम्पनीको नाफा ५ करोड ६० लाख १४ हजार रुपैयाँ रहेको थियो।

खुद बीमाशुल्क आर्जनमा सुधार
खुद बीमाशुल्क आर्जन पनि सन्तोषजनक देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको प्रभु इन्स्योरेन्सले यस वर्ष १२ करोड ७ लाख रुपैयाँ पुर्याएको छ। यो सामान्य वृद्धि भए तापनि बजारको प्रतिस्पर्धात्मक वातावरणमा कम्पनीको ग्राहक आधार र बीमालेख बिक्रीमा स्थिरता कायम राख्न सफल भएको देखाउँछ।

दाबी भुक्तानीमा वृद्धि
यस समीक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी साढे १३ प्रतिशतले बढेर १० करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो भुक्तानी ९ करो ४७ लाख रुपैयाँ थियो। दाबी भुक्तानीमा भएको वृद्धिले कम्पनीको ग्राहक सेवाप्रतिको प्रतिबद्धता र दाबी व्यवस्थापनको प्रभावकारिता झल्काउँछ।

पूँजी संरचना र वित्तीय सुदृढता
असोज मसान्तसम्मको अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। यसैगरी, महाविपत्ति कोषमा १० करोड ३४ लाख रुपैयाँ र जगेडा कोष सञ्चितिमा २४ करोड ९२ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १४.८५ रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा आकर्षक मानिन्छ। यसैगरी, प्रतिशेयर नेटवर्थ २०२.२७ रुपैयाँ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री