काठमाडौँ । यांगो लुम्बिनी लायन्सको टाइटल स्पोन्सर बनेको छ । यांगोलाई टाइटल स्पोन्सरको रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले बताए ।
उनले भने, ‘युवाहरूमाझ लोकप्रिय कम्पनी यांगोलाई हाम्रो टिमको टाइटल स्पोन्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी छौँ । उत्कृष्टता, नवीनता र विश्वमा पहुँचप्रतिको हाम्रो एउटै दृष्टिकोण साझा भएको महसुस भइरहेको छ । नेपाली क्रिकेटको जोश, गौरव र सम्भावनालाई बोकेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्जनका लागि हामीले यांगोलाई उत्कृष्ट सहयात्रीको रूपमा रोजेका छौँ ।’
लुम्बिनी लायन्ससँगको टाइटल स्पोन्सर सम्झौतापछि यांगो नेपालका प्रतिनिधिले भने, ‘क्रिकेट नेपालमा सबैको प्रिय खेल हो, जसले सबैलाई जोड्ने माध्यम बनेको छ । हामी लुम्बिनी लायन्सलाई सहयोग गर्न पाउँदा निकै उत्साहित छौँ र उनीहरूलाई आगामी नेपाल प्रिमियर लिगका लागि शुभकामना दिन्छौँ । हामी विश्वस्त छौँ कि उनीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछन् ।’
यांगो ग्रुप दुबई, संयुक्त अरब इमिरेट्स ९यूएई०मा मुख्यालय रहेको अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो । यसले विश्वका विभिन्न ठाउँबाट विकास गरिएका प्रविधिहरूलाई स्थानीय समुदायका आवश्यकताअनुसार दैनिक सेवाहरूमा रूपान्तरण गर्छ– जसमा मोबिलिटी, नेभिगेसन, डेलिभरी, फुडटेक, मनोरञ्जन, र एआई असिस्टेन्ट लगायतका सेवा समावेश छन् ।
लुम्बिनी लायन्स, जसका मार्की खेलाडी नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन्, दोस्रो सिजनका लागि तीव्र रूपमा तयारीमा छन् । मंसिर १ गते (मध्य नोभेम्बर) देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइटअन्तर्गत हुने एनपीएलका लागि टिमले अहिले एक्स्ट्राटेक ओभलमा फ्लडलाइटमुनि प्रशिक्षण गरिरहेको छ ।




