काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीले देशमा सुशासन कायम राख्दै आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सरकारको महत्वपूर्ण जिम्मेवारी पूरा गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । गृह मन्त्रालयमा बिहीबार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न ग्रहण गरेपछि उनले असाधारण परिस्थितिमा प्राप्त यो गहन जिम्मेवारीलाई अत्यन्तै गम्भीरताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
आइजिपी कार्कीले आफ्नो कार्यकालमा नेपाल सरकार, गृह मन्त्रालय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था र समुदायबीच प्रभावकारी समन्वय तथा सहकार्यका माध्यमबाट सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्नेमा जोड दिए। उनले प्रहरीको संरचना र भौतिक पूर्वाधारको पुनर्स्थापना, आवश्यक हतियार, सवारीसाधन र स्रोतको सुनिश्चितता गर्नुका साथै प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्नु आफ्नो प्राथमिकतामा रहने बताए।
“अपराध नियन्त्रण, लागूपदार्थ दुरुपयोग, आत्महत्या र सडक दुर्घटनाजस्ता जल्दोबल्दो चुनौतीहरूको प्रभावकारी व्यवस्थापनका लागि सङ्गठनलाई अझ सक्षम र उच्च मनोबलयुक्त बनाउनु अपरिहार्य छ,” आइजिपी कार्कीले भने। उनले सूचना प्रविधिको विकास, अपराधका बदलिँदा प्रवृत्ति र जनअपेक्षाअनुरूप आधुनिक एवं दक्ष प्रहरी सङ्गठन निर्माण गर्नु सबैको साझा दायित्व रहेको औँल्याए ।




